नेकपाभन्दा “एमाले लोकप्रिय !


निर्मल भट्टराई रामायणमा एउटा प्रशङ्ग छ । वाली र सुग्रीवको गदा यु द्ध भईरहेको वेला रुख पछाडि लुकेर रामले बाँण प्रहार गरि वालीको प्राण पखेरु समाप्त पारिदिए । केही क्षणमा वाली पत्नी तारा रुदै कराउदै उनको पतिको मृत शरीरतर्फ आईन । ताराले आफ्नो पतिको मृत शरीर देखाउदै रामलाई भनिन्मेरा पतिले तपाईंको के विगार्नुभएको थियो र मार्नुभयो ?

रामको अर्थमा उनले वालीलाई मारेको होईन । उनले त मात्र वालीको आ त्मा र शरीरलाई छुट्याई दिएको मात्र हो ! यो त्यतिबेलाको दार्शनिक सवाल थियो । आ त्मा र शरीरको सम्बन्धको व्याख्या थियो ।

माक्र्सवादी दर्शनशास्त्रीहरु यो पुरानो व्या ख्यालाई मान्दैनन् । तर यो व्या ख्यासंग मिल्दोजुल्दो रुप र सारको व्याख्या गर्छन् । सार र रुपको द्व न्दात्मक र अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्नेमा सबै माक्र्सवादी सहमत देखिन्छन्

तत्कालीन एमाले र तत्कालीन माओवादीको एकता हुँदा विचारको मामिलामा एउटा मोटो सहमति देखिन्छ । त्यो हो—तत्कालीन एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको जनताको बहुदलीय जनवादको संवैधानिक सर्बोच्चता, शान्तिपूर्ण चुनावी प्रतिस्पर्धा, मानवअधिकार, बहुलवादी खुल्ला समाजलगायतका सारलाई आफ्नो न्यूनतम कार्यक्रमको पनि सार बनाउने तर त्यसको रुप पक्ष “जनताको बहुदलीय जन वाद”बाट “बहुदलीय” शब्द झिकेर “जनताको जन वाद”राख्ने ।

पार्टीको महाधिवेशनसम्म पुग्दा यसो गर्नुको कारण सहित नेतृत्वबाट पुष्ट्याईं पनि आउला । तर कमरेड मदन भण्डारीले जबजको सारतत्व र स्वरुपबारे गरेको व्याख्यालाई नेकपाका पाईलटद्वय कमरेड के पी ओली र कमरेड प्रचण्डले ईन्कार गर्न सक्ने अवस्था छैन । मदन भण्डारी भन्नुहुन्छ—“अन्य कम्युनिट शासन भएका देशमा बहुदलीय प्रतिस्पर्धा रहेन ।

हामी भने त्यसभन्दा भिन्न सुष्पष्ट रुपमा बहुदलीय प्रतिस्पर्घा सामेल गर्न चाहन्छौं । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेष रुपमा उल्लेख गर्न आवश्यक छ । त्यसैकारण कार्यक्रमको शीर्षकमा सारतत्व र आफ्ना विशेष कुराहरु समेत समावेश गरेर जनताको बहुदलीय जनवाद भनेको हो । जुनसुकै विशेषणको साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरुप र सारलाई सटिक ढंगले उल्लेख गर्दा क्रान्तिको कार्यक्रमको नाम जनताको बहुदलीय जनवाद हुनुपर्छ ।”

सार रुप जथाभावी अलग थलग गर्न सकिदैन भन्ने कुरालाई उक्त भनाईले प्रष्ट पारेको छ । सारअनुरुपको रुप नभएमा त्यो छद्मभेषी कार्यक्रम बन्नेछ भने रुप अनुसारको सार नभएमा त त्यो झन अविश्वसनीय हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जनताले अभूतपूर्व मत दिएर सत्तामा पूर्याएका छन् ।

त्यसकारण नेकपाले जनताको विश्वास धर्मराउन नदिन आफ्ना विचार, संगठन, रणनीति र कार्यनीतिको सवालमा सत्य र प्रष्ट बोलेर अगाडि बढ्नु नितान्त आवश्यक छ, न कि घीउ बेचुवा र तरवार बेचुवाको रुपमा ।

दशकौं आन्दोलनमा होमिएको कारणले र विज्ञान र प्रविधिको क्षेत्रमा विश्वमा आएको परिवर्तनले नेपाली जनताको चेतनास्तरलाई उँचो बनाईदिएको छ । त्यसमा पनि समाजका अग्रदस्ता मानिने नेकपाका कार्यकर्ताको चेतना झन उँचो छ ।

वाचाल रामले अवोध तारालाई फस्ल्याङ्फुस्लुङ् पारेजस्तो अहिलेको नेकपा नेतृत्वले कार्यकर्ता, शुभचिन्तक र पाटीलाई मत दिने जनतालाई फस्ल्याङ्फुस्लुङ् पार्न विल्कुल सक्दैन । यो जमानामा नेताभन्दा जनता एक कदम अगाडि छन् भन्ने हेक्का नभए एकाविहानै कुनै नेता , बढेमान नै किन नहोस्, सेवानिवृत्त नहोला भन्न सकिन्न ।

कम्युनिष्ट आन्दोलन भित्र बहुदलीयताको अभ्यास नेपालमा जत्तिको सुष्पष्ट ढंगले संसारमा कहीं भएको छैन । यसलाई कम्युनिष्ट राजनीतिको नेपाली ब्राण्ड बनाउँनु उपयुक्त हुन्छ । रुस, चीन ,उत्तर कोरियामा भएका एकदलीयताको अभ्यास विवादमुक्त छैन भन्ने पनि घामजस्तै छर्लङ्ग छ ।

माक्र्सवाद, लेनीनवाद, जुछे विचारधारा भन्दाभन्दै पारिवारिक निरङ्कुश शासनतर्फ मोडिएको उत्तर कोरियाको घटनादेखि जनतालाई केन्द्रमा राखेर देशलाई विश्वको सुपर पावर बनाउने चिनिया ईतिहास हाम्रा सामु छ । नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको विशिष्ट धरातलीय यथार्थतामा बहुदलीयताको अभ्यास गर्दै आएको छ ।

बहुदलीयताको अभ्यास आम निर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्तामा पुग्ने कुरामा मात्र केन्द्रित छैन, अन्तरपार्टी लोकतन्त्रमा पनि गाँसिएको छ । पार्टीको अमुक नेतृत्वमा पुग्न व्यक्तिले कम्युनिष्ट आन्दोलनमा गरेको त्याग, तपस्या र वलिदानमात्रले अब पुग्दैन ।

कुनै प्राविधिक एकता वा सहमतिले मात्र पुग्दैन । तत् तत् तहको बहुमत पार्टी सदस्यको वैधानिक अनुमोदन चाहिन्छ । प्रधानमन्त्री बन्न संसदीय दलको बहुमत सदस्यको बहुमत चाहिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवादले बसाएको यो परम्पराबाट पार्टी एकतापछि आफ्नो कार्यक्रमलाई “जनताको जनवाद” नामाकरण गरेको नेकपा तत्काल बाहिर आउन सक्ने अवस्था छैन ।

जबजको च्याप्टर क्लोज भइसकेको निष्कर्ष निकाल्न वा माओवाद,जबज र एक्काईसौं शताब्दीको जनवादको सारसंग्रहबाट अर्को विचार बनाउन त्यति सजिलो छैन । तत्कालीन एमालेमा जनताको बहुदलीय जनवादलाई आलोचनात्मक आँखाले हेर्ने नेताहरु र कम्युनिष्ट आन्दोलनभित्र बहुलवाद र बहुदलीयतालाई शंकाको नजरले हेरिरहेका माओवादी आन्दोलनबाट आएका केही नेताहरु समेत चाडै यो परम्परामा अभ्यस्त हुने अपेक्षा गर्न सकिन्छ । र, त्यतिवेलामात्र नेकपाको एकताले वास्तविक अर्थमा पूर्णता पाउने छ ।
नेपाल कम्युनिष्ट पार्टीको रुप र सारलाई जनताको समग्र पङ्क्तिले ग्रहण गरिसकेको अवस्था छैन । उप—चुनावमा भोट माग्न घरदैलो पुग्दा थाहा भयो, अझै हजारौं मतदाताको दिमागमा “एमालेको सूर्यचिन्ह”, जननेता मदन भण्डारी र जबज घर गरेर बसिरहेका छन् । पार्टी एकतालाई जनस्तरमा पुर्याउन अझै धेरै काम गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्