कालापानी हाम्रै हो, नेपालले जनगणना गरेको प्रमाण छ : बाँस्कोटा


काठमाडौँ । भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सालाई नेपाल सरकारले अस्वीकार गरिसकेको स्पष्ट पारेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नक्सासम्बन्धी समस्या कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने बताए ।

उनले भने, ‘ हाम्रा सीमा सम्बन्धित विषयहरु पहिले पनि आएको हो। कालापानीमा मात्रै होइन अन्यत्र ठाउँमा पनि सीमा विवाद टुंगो लगाउन बाँकी छ। त्यो हामी समाधान गर्छौं।’ उनले नेपाल र भारतबीच जोडिएका भूभागमध्ये करिव २ तिहाइ ठाउँमा सीमा विवाद रहेको र समाधान गर्न बाँकी रहेको बताए। उनले अगाडि भने, ‘राजनीतिक र कुटनीतिक पहलबाट प्रमाण, दसीसहित त्यो विषय टुंग्याउने छौं।’

सरकारले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे सरकारले परराष्ट्र मन्त्रालयमार्फत स्पष्ट धारणा राखेको पनि उनले बताए। उनले कालापानी नेपालकै भएको ऐतिहासिक प्रमाणहरु भएको बताए। उनले २०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेकोले कालापानी नेपालकै भएको स्पष्ट रहेको बताए। उनले भने, ‘हामीसँग ऐतिहासिक तथ्य छन्। हामीसँग भएको प्रमाण नै यथेष्ट छन्। हामी सार्वभौमसत्ता सँग जोडिएका विषयमा हामी स्पष्ट छौं। नेपालकी सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। ‘

प्रतिक्रिया दिनुहोस्