कालापानी मिचिएको कुरा निकाल्दा देउवाले हप्काए


सुधिर शर्मा

बेलाबखत चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन् । कालापानी त्यस्तैमध्येकोे एक हो ।

कालापानी जहिले–जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो, यो मुद्दालाई दुर्गम दार्चुलाबाट राष्ट्रिय बहसमा प्रवेश गराएको– संसद्मा बोलेर, पत्रिकामा लेखेर, सडकमा भाषण गरेर । २०५० को दशकको सुरुमा उनी एकोहोरो ढंगले लागि नपरेका भए बाँकी नेपाललाई कालापानीको संवेदनशीलता ग्रहण गर्न अझै समय लाग्थ्यो होला । अनि पत्रकारको ध्यान पनि सायद त्यता तानिने थिएन । त्यसै पनि समाजका थुप्रै ‘इस्यु’ हामी पत्रकारका नजरबाट छुटिरहेकै हुन्छन् ।

जिल्लाको राजनीतिबाट केन्द्रमा उक्लेर स्थापित हुन जो कोहीलाई सजिलो हुँदैन । धामी दार्चुलाबाट उठेर राष्ट्रिय जीवनमा प्रवेश पाएका विरलै नेतामध्येमा पर्थे । सदरमुकामलगायत दार्चुलाको दक्षिणी क्षेत्रमा खस–आर्य समुदायको बसोबास छ, उत्तरतर्फ अपि हिमालमाथिको व्यास क्षेत्रमा सौका जनजाति बस्छन् । त्यही व्यास क्षेत्रको ठूलो भूखण्ड भारतीय फौजको नियन्त्रणमा छ ।

धामी चाहिँ दक्षिणतर्फको हराभरा मल्लिकार्जुन गाउँका हुन् । उनी पञ्चायतकालमा शिक्षक थिए, त्यही बेला वामपन्थी राजनीतितर्फ तानिए । उनलाई तानेको अर्को विषय देशभक्तिले थियो । सीमापारि बाटो र विकास, वारिचाहिँ किन यस्तो अविकास ? पारि जानासाथ ‘डोट्याल’ भन्दै हेपिनुपर्ने नियति किन ? आदि प्रश्न गर्दै जाँदा आफ्नै जिल्लाको उत्तरी कुनो विदेशी नियन्त्रणमा रहेको धामीले थाहा पाए । अनि, त्यो कुरोलाई चर्को गरी राजधानीसम्म ल्याए ।

खासगरी २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि उनले कालापानी अतिक्रमणबारे संसद्मा कुरा राखेका थिए । धामीभन्दा पहिले पनि यो मुद्दा राज्यको जानकारीमा नरहेको होइन, तर सकभर लुकाउन खोजिन्थ्यो । धामीले यसलाई राष्ट्रिय बहसमा ल्याइदिए । बोले, लेखे र हामीजस्ता पत्रकारलाई बताइदिए । त्यसैताका भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । कालापानी अतिक्रमणका कारण महाकालीको उद्गम किटान हुन सकेको थिएन । त्यसलाई बेवास्ता गर्दै सन्धि गरिएपछि धामी झनै आक्रामक भए ।

दार्चुलामुन्तिर डँडेलधुराका शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बनेको बेला थियो । उनले धामीलाई बोलाएर ठाडै हप्काए– बेकारमा समस्या किन चर्काएको भन्दै । अरू पार्टीका भए पनि देउवाका निम्ति त्यस भेगका सबै ‘आफ्नै’ मान्छे थिए । अचेल मात्र हो, दलीय आधारमा राजनीतिक शिविरहरू बन्न थालेको, नत्र पहिले शक्ति संरचनामा उपल्लो हैसियत बनाएका व्यक्तित्व नै सम्बन्धित भेगमा सर्वमान्य मानिन्थे । सुदूरपश्चिममा पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द शक्तिकेन्द्र थिए, पछि देउवा । त्यसैले उनले धामीलाई सहजै हप्काउन खोजेका रहेछन् । धामीले त्यहाँ के जवाफ दिए थाहा भएन तर लगत्तै लेखे, ‘१९ हजार ६ सय हेक्टर जमीन कता हरायो प्रधानमन्त्रीज्यू ?’

हक्की पनि थिए । लागेको कुरा लेख्न–बोल्न नडराउने । अस्ति भर्खर धामीका परममित्र हरि रोका र मैले त्यो प्रसंग सम्झियौं । त्यसैताका हुनुपर्छ, मैले अनौपचारिक गफगाफमा सोधें, ‘तपाईंलाई महाकाली र कालापानीको मुद्दाले यति धेरै किन छोएको ?’

धामीको जवाफ अलि ठूलो स्वरमा निस्कियो, ‘तपाईहरुका निम्ति यो काठमाडौंबाट हेरिने एउटा मुद्दामात्र होला, तर हाम्रो निम्ति त आँखैअगाडि भइरहेको अन्याय हो– कसरी भुल्न सकिन्छ ?’

यस्तो बुझाइ थियो उनको । एमालेबाट सांसद चुनिएपछि २०५१–५२ मा उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमत सरकारमा आवास तथा भौतिक योजनामन्त्री पनि बने । तर, हाम्रा निम्ति उनी नेता कम, लेखक बढी थिए । पत्रकार र लेखकको जस्तो सम्बन्ध हुन्छ, हाम्रो हिमचिम त्यसभन्दा अलि बढी नै थियो ।

धामीसँग लामो संगत त हुन पाएन, तर छोटै अवधिका पनि अनेक किस्सा छन् । उनीसँग कुराकानी ग¥यो कि घुमिफिरी बीचमा कालापानी आइहाल्थ्यो । अन्ततः हामी उनका कुरा सुन्दासुन्दै कालापानीको रिपोर्टिङमा जाने भयौं । सिनासका ध्रुव कुमार सरले ‘नेपाल्स इन्डिया पोलिसी’ पुस्तकमा कालापानीमा भारतीय फौज रहेको सन्दर्भ उहिल्यै लेखिसकेको तथ्य केहीअघि पढेको थिएँ । म उनलाई भेट्न मण्डला बुक पोइन्ट पुगेँ, जो अहिले पनि बौद्धिक–प्राज्ञिक ‘जक्सन’का रूपमा परिचित छ । एक वर्षलाई हिरोसिमा युनिभर्सिटीतर्फ जान लागेका ध्रुव सरले मण्डलापछाडि चिया पिउँदै कालापानीको पृष्ठभूमिबारे थप व्याख्या गरिदिए ।

थाहा भयो– नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू २०२६ सालमा हटाइँदा राजा महेन्द्रले कालापानीको चौकी भने रहन दिएका रहेछन् । त्यसबारे जानकार पूर्वमन्त्री एवम् लेखक ऋषिकेश शाहलाई सोधें । राजा महेन्द्रले ‘भारत धेरै रिसाएको, थप नचिढ्याउने’ उद्देश्यले त्यसबेला कालापानीप्रति आँखा चिम्लेको उनको भनाइ थियो ।

महेन्द्रले चिम्लेको आँखा धामीले खोले । २०५३ असोज– दसैं आउन लागेको थियो, फोटोपत्रकार यात्रा थुलुङ, पत्रकार गणेश खत्री र म दार्चुलातर्फ लाग्यौं । महेन्द्रनगर पुगेर जिल्ला प्रशासन कार्यालयबाट भारतीय बाटो हिँड्न पाउने अनुमतिपत्र लियौं । पिथौरागढ पुगेर एक रात बस्यौं, अनि भोलिपल्ट जौलजीविमा पास देखाएर धार्चुला पुग्यौं, जहाँबाट झोलुंगे पुल तरेर दार्चुलातर्फ पस्यौं । नेपालतर्फबाट सडक पुगेको थिएन, मोटरमा दार्चुला पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो ।

सदरमुकामबाट हामी लाग्यौं– कालीको तीरैतीर उत्तरतिर । धामी हाम्रा अप्रत्यक्ष गाइड थिए । उनैले सुझाएको बाटो पहिल्याउँदै, खुइँय् गर्दै उकालो चढ्दै गयौं हामी । पारिपट्टि भारतीय सैन्य शिविरहरू देखिन्थे, वारि फाट्टफुट्ट बस्ती । प्रायः बास गोठमा भयो । अपिको छेउ भएर हिमालपारि पुगेपछि जोसले तान्यो । तीन दिनमा हामी पुग्यौं छाङ्रु– दार्चुलाको सबैभन्दा उत्तरी गाउँ, जहाँ अल्पसंख्यक सौका जाति बस्छन् ।

फैलिएर बसेको छाङ्रु गाउँ मलाई रमाइलो लाग्यो । तिब्बतको ताक्लाकोट व्यापार गर्न जाने रुटमा पर्दो रहेछ यो ठाउँ । यहाँका सौका जाति हिउँ परेपछि सदरमुकाम झर्ने, बाँकी समय त्यहीँ बस्ने गर्दा रहेछन् । पुरानो समृद्ध इतिहास रहेछ यो ठाउँ र यो जातिको । सौका समुदायकै गोपालसिंह बोहोरा उसबेला नेपाली सेनामा ब्रिगेडियर रहेछन्, जो पछि धामीकै पार्टीबाट सभासद् भए । र, ‘कालापानी ः कथा र व्यथा’ किताब पनि लेखे ।

विजया दशमीको दिन अरूहरू घरमा टीका थाप्दै थिए होलान्, हामी भने कालापानीको खोजीमा निस्कियौं । झाडी पन्छाउँदै हिँड्दा केहीबेरमा पहिले घरहरू भएजस्तो खण्डहर देखियो । त्यहाँ वास्तवमा कुनै जमानामा नेपाली बस्ती रहेछ, जसलाई भारतीय सैन्यले उठ्न बाध्य पारेका रहेछन् । झन्डै तीन घन्टा हिँडेपछि हामी एउटा सानो डाँडामा उक्लियौं, जहाँबाट तल हेर्दा सैन्य शिविरहरू देखिए । मित्र यात्रा थुलुङले टेलिलेन्स लगाएर भटाभट फोटो खिच्न थाले ।

तलबाट बन्दुक बोकेका सिपाहीहरू कराउँदै आइहाले, ‘बन्द करो, बन्द करो ।’ अनि मंगोलियन अनुहारका यात्रालाई चिनियाँ भन्दै केरकार गर्न थालिहाले । हामीले परिचयपत्र आदि देखाएर आफ्नै भूमिमा आफूलाई नेपाली प्रमाणित गर्नुप¥यो । तिनले यात्राको क्यामेराबाट रिल पनि निकाल्न खोजे । धन्य, उनले पहिल्यै एउटा रिल निकालेर लुकाइसकेका रहेछन्, जसबाट धुलाइएको फोटो पछि कालापानीको ‘आइकोनिक फोटो’ बन्न पुग्यो ।

हामी पत्रकार हौं भन्ने कुरा बुझेपछि त्यहाँ रहेको ‘आईटीबीपी’ भनिने भारतीय अर्धसैन्य दस्ताका कमान्डर आए । उनले कुराकानीमा त्यो भारतीय भूमि नै रहेको दाबी गरे, तर उनीहरू सीमा अतिक्रमण गरेर बसिरहेको वस्तुस्थितिले नै देखाउँथ्यो । धामीले भन्दै आएको कुरो हो रहेछ । भारतीय सैन्य कालीवारि आएर गुम्बज आकारका दर्जन जति क्याम्पहरू बनाई बसेको आँखैले देखियो ।

सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो । उक्त सन्धिका आधारमा बनाइएका सुरुआती नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान मानिएको छ । पछिपछि लिम्पियाधुराभन्दा अलि पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणको कालापानीमा कृत्रिम खोल्सो बनाएर त्यसैलाई कालीको उद्गम दाबी गरिएको थियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी भू–भाग मिचेको देखिन्छ ।

कालापानी हुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जाने भारतीय तीर्थयात्रीका लागि सबैभन्दा नजिकको बाटो हो यो । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्व छ । र, सायद यसैकारण भारतले यो क्षेत्र नछाड्न मरेहत्ते गर्दै आएको छ ।

काठमाडौं फर्केर मैले ‘कालापानी, जहाँ नेपालभित्र भारतको राज छ’ शीर्षकमा लामो रिपोर्टिङ गरेँ । ‘मूल्यांकन’, ‘जनआस्था’ र ‘काठमाडौं टुडे’मा पनि समाचारहरू लेखेँ । नारायण वाग्ले र जोगेन्द्र घिमिरेले पनि त्यसैताका कालापानीको स्थलगत रिपोर्टिङ गरेर ‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा लगातार लेखिरहे । अरूहरूले पनि कलम चलाए । सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि जोसिए, जसका तथ्यपरक विश्लेषणले कालापानीको ‘डिस्कोर्स’लाई अगाडि बढाउन मद्दत पु¥यायो । अब धामी एक्लै रहेनन् । मिडियामा व्यापक कभरेजसँगै कालापानी राजनीतिक राडारमा चढ्यो ।

२०५४ सालमा महाकाली सन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने (अर्थात् कालापानीको विवाद टुंग्याउने) प्रतिबद्धता जनाइयो । तर, त्यसलाई कार्यान्वयन गर्ने अग्रसरता कहिल्यै कसैले लिएन । त्यसै वर्ष भारतका उदारवादी प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी द्विपक्षीय वार्ताको कार्यसूचीमा चढ्यो । नेपालको संसदीय टोली पनि कालापानी निरीक्षणमा पुग्यो । अखिलको विद्यार्थी टोलीले त त्यहाँ गएर खुकुरी नचाउँदै उग्र राष्ट्रवाद प्रदर्शन ग¥यो । त्यसैलाई बहाना बनाएर भारतीय पक्षले अझै वरसम्म तारजाली लगायो । तर, नाराबाजी जति गरियो, त्यसअनुरूप नेपालले कूटनीतिक प्रयास गर्न सकेन या चाहेन ।

धामीले उठाएको कालापानी मुद्दा पछि उनकै पार्टीका नेताहरूलाई समेत घाँडो हुन थालेको थियो । महाकाली सन्धि, कालापानीलगायतका विवाद बढ्दै गएर अन्ततः एमाले नै फुट्यो । त्यसबेला पार्टी फुटाएर माले बनाउने वामदेव गौतम त केही वर्षमा मातृ पार्टीमै फर्किए, तर कालापानीबाट भारतीय फौज फर्केन ।

त्यसभन्दा अगावै, २०५४ भदौ २७ गते अचानक एउटा दुःखद् खबर सुन्नुप¥यो । राष्ट्र बैंकमा कार्यरत कल्याणबन्धु अर्याल र म हतारहतार धामीको सानेपा डेरामा पुग्यौं । त्यहाँ पुग्दा उनी नुवाकोटको मदनपुरमा मोटर दुर्घटनामा परेको थाहा भयो । हामी मोटरसाइकलमा हानियौं त्यतातिर । पानी झमझम परिरहेको थियो । ककनी नपुग्दै भिजेर निथ्रुक्कै भइयो । घटनास्थल पुग्दा ४५ वर्षे धामी यो दुनियाँबाट टाढा पुगिसकेका रहेछन् ।

जसरी कालापानी विस्मृतिमा धकेलिँदै गयो, धामी पनि विस्तारै ओझेलमा पर्दै गए । गत संसदीय निर्वाचनका बेला दार्चुला सदरमुकाम पुग्दा एउटा कुनामा अचानक उनको थोत्रो सालिक देखेँ । आफ्नो गृह जिल्लामा उनलाई सम्झन त खोजिएको रहेछ, तर त्यसको राम्रोसँग रेखदेख नगरिँदा सम्मानभन्दा बढी बिजोग अवस्था देखियो ।

अचेल कालापानी पत्रिकाको पानामा सीमित भएको छ । राजनीतिक दलका नेताहरू त सकभर यो प्रकरणतर्फ फर्कनै चाहँदैनन् । द्विदेशीय वार्ताको कार्यसूचीबाट पनि यो हटे सरह छ । धामीको अभाव यहीँनेर खट्किन्छ । उनी पनि समयक्रममा अरूजस्तै बद्लिन्थे कि थाहा छैन, तर भौतिक रूपमा नभएको हुँदा विश्वास गरिरहन सकिँदो रहेछ । त्यसैले जहिले–जहिले कालापानीको प्रसंग आउँछ, म धामीलाई सम्झिहाल्छु । (अन्नपूर्ण पोष्टमा २०७५ असोज १३ गते प्रकाशित लेखको अंश)

प्रतिक्रिया दिनुहोस्