न हातमा, न सधैँ आफ्नो साथमा


न चाहेर यस धर्तीमा जन्मियौं, न त आफूले चाहेर नै मर्ने हो हामी । यदि कसैले आत्महत्या नै ग¥यो भने पनि त्यसमा दुरुत्साहन अवश्य भएको हुन्छ । कुनै दुरुत्साहन सतहमै देखिन्छ त कुनै पर्दापछाडि लुकेर रहन्छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई रवि लामिछानेहरूले दुरुत्साहन गरेको देखिने भिडियो सार्वजनिक भयो । केही समयको प्रहरी अनुसन्धान र अदालती प्रक्रियापछि अहिले उनीहरू धरौटी र शुद्ध तारेखमा रिहा भए पनि मुद्दाको अन्तिम टुंगो लाग्न अझ बाँकी नै छ ।

यसमा पनि जे भयो, भइरहेछ र हुने हो, त्यो हामी कोही पनि मानिसको बसको कुरा होइन । किनकि हाम्रो जीवन नै हाम्रो हातमा छैन । अदृश्य शक्तिको इसारामा नाचिरहेका छौं हामी । कसैले आत्महत्या गर्छ, दुरुत्साहन गर्छ वा कसैको हत्या नै गर्छ भने पनि त्यो अदृश्य शक्तिद्वारा प्रेरित परिघटना हो । कसैले कुनै अपराध गर्ने, सजाय भोग्ने, सकारात्मक कार्य गर्ने, सम्मानित हुने आदि सबै कुरा सांसारिक खेलको उपज हो । मानौं एउटा नाटक मञ्चन भइरहेछ यस संसारमा, त्यसमा हामी सबै आ–आफ्नो चरित्र निभाउँदै छौं । यो नाटकमा कसको भूमिका के–कति रहन्छ, त्यो नाटककारले नै तय गर्ने कुरा हो । यो नाटकको सुरुवातबारे जसरी हामी अनभिज्ञ छौं, त्यसैगरी यसको अन्त्यबारे पनि हामी कोही जानकार छैनौं । विचित्रको संसारमा यो नाटकको कथा र कथाकारबारे विल्कुल बेखबर भएजस्तै आफ्नो भूमिकाबारे पनि हामीलाई कहिल्यै कुनै जानकारी हुने छैन, जसलाई हामी भाग्य भन्छौं । भाग्यले जता डो¥याउँछ, त्यतै डोरिने हो हामी ।

आफ्नो भागमा परेको भन्दा घटी वा बढी कसले के पो पाएको छ र ? आज या भोलि कुन दिन कसको भागमा के पर्ने हो ? त्यो अनिश्चित नै त छ । भविष्यमा कहाँ के हुन्छ, कसलाई के थाहा ? कुनै पनि प्राकृतिक विपत्ति होस् या मानव सिर्जित दुर्घटना, जहिले जे हुनुछ, त्यो भएरै छाड्छ ।

बाढी, पहिरो, भूकम्प, चट्याङ, सुनामी आदि कुन दिन आउँछ र के–कति धनजनको क्षति हुन्छ भनी पहिल्यै भन्न नसकिने भएजस्तै सवारी दुर्घटना, झैझगडा, युद्ध आदि पनि हुनु छ भने भएरै छाड्छ, जे–जति सोत्तर हुनुछ, त्यो भएरै जान्छ । यो नाटकमा कुनबेला के–कस्तो परिदृश्य आउनु छ त्यो आउँछ, आउँछ । कोही पात्रको अन्त्य हुनु वा नयाँ पात्र जन्मिनु आफसेआफ हुने कुरा हो ।

हुन त महिला-पुरुष वा श्रीमान्श्री-मतीले चाहेर नै बच्चा पैदा हुने हो भन्ने लाग्न सक्छ । तर, मानिसले चाहँदैमा हुने भए कत्ति दम्पती कि निःसन्तान छन् त ? फेरि यस्तै बच्चा जन्माउँछौं भनेर श्रीमान्÷श्रीमतीले चाहेजस्तो बच्चा जन्मिने पनि त होइन ? लुलो लंगडो वा अपांग बच्चा जन्माउने कसैको चाहना नभए पनि कतिपय घरमा त्यो भइरहेकै छ । यो सांसारिक नाटकमा पात्रहरू कुन रूपको, कुन स्थानको हुने आ(आफ्नो भाग्यको कुरा हो ।

हामी कोही छोरा या छोरी हुन्छौं भनेर जन्मिएनौं । युरोप, अफ्रिका वा एसियामा पैदा हुने, धनी वा गरीब परिवारमा जन्मिने, ज्ञानी वा मूर्ख आमाबाबुको सन्तान हुने हाम्रो चाहनाले हो र ? समय र परिस्थितिले मान्छेलाई जस्तो बनाउँछ र जुन ठाउँमा पु¥याउँछ, त्यस्तै जीवन भोग्ने हो हामीले, त्यही हो हाम्रो भाग्य । कोही गीतकार, कोही संगीतकार वा गायक, कोही पत्रकार, कोही नेता, शिक्षक, व्यापारी, मजदुर, किसान, डाक्टर, वैज्ञानिक आदि जो जे भए पनि त्यो यो सांसारिक नाटकले मागेको चरित्र निर्वाह गरेका हौं हामीले ।

यदि, यो नाटकमा हाम्रो भूमिका कुकुर, बिराला, पक्षी वा किराफट्यांग्राको हुन्थ्यो भने त्यही हुनुपथ्र्याे हामी । भाग्यले मानव जीवन पाएका हौं, जो जुन ठाउँमा जस्तो जीवन जिउँदै छ, मर्दै छ, त्यो आ(आफ्नो भाग हो । त्यसैले कोही सुखीसम्पन्न, कोही दुःखी विपन्न, कोही अग्लो, कोही होचो, कोही गोरो, कोही कालो, कोही रोगी, कोही जोगी यस्तै छ संसार । संसारमा जति पनि नाता सम्बन्ध छन् त्यो उनै नाटककारले जोडिदिएका हुन् । कोही एक्लो हुनु वा कसैका आफ्ना थुप्रै देखिनु यही सांसारिक खेलको पाटो हो । केहीअघि हिरासतमा हुँदा रवि लामिछानेको पक्षमा सडकमा मानिसको भीड ओइरिनु पनि यही नाटककै तमासा हो ।

हामी आफूले नै गरेजस्तो लाग्ने भए पनि हाम्रा भावना, सोचाइ, व्यवहार तथा कर्म सबै अदृश्य शक्तिबाट परिचालित छन् । हाम्रो दिल दिमागमा कतिखेर कस्ता भावना तथा कुरा आउँछन्, हामी कसैलाई थाहा हुँदैन । तर, हामी आफ्नो दिलदिमागमा आएका तिनै सोचविचारअनुसार कार्य गर्छाैं । हामी त वश कठपुतली हौं, नाटककारले कता लैजान्छ, त्यतै जाने, कसरी नचाउँछ, त्यसरी नाच्ने काम हो हाम्रो ।

– अजय गोर्खाली

प्रतिक्रिया दिनुहोस्